सबै उत्पादित वस्तु तथा सेवाको लागी एउटा निश्चित बजार र ग्राहक चाहिन्छ, त्यसैले विभिन्न समयावधिमा निर्माता कम्पनीहरुले नयाँ उत्पादन तथा पुरानै उत्पादनलाई अत्याधुनिक प्रविधि अपनाएर परिमार्जित गरेर प्रतिस्पर्धात्मक बजारमा ग्राहकलाई आकर्षित पारिरहेका हुन्छन् । खुलाबजार तथा संचारको सर्वसुलभताले गर्दा वर्षेनी हजारौ उत्पादनहरु बजारमा भित्रिएको परिपे्रक्षमा उत्पादक तथा आम ग्राहकवर्गको चाहना अनुरुप नेपालमा भित्रिएको तथा भित्रिने क्रममा रहेका वस्तु तथा सेवालाई एउटै छानामुनी अवलोकन गराउने उद्देश्यले यस वर्ष पनि विभिन्न निकायहरुको सहकार्यमा मेची उद्योग वाणिज्य संघको आयोजनामा आगामी २०७६ पौष ९ देखि १७गते सम्म मेचीनगर–१० स्थित धुलाबारी विजनेश पार्कमा तेश्रो अन्तर्राष्ट्रिय औद्योगिक व्यापार तथा पर्यटन महोत्सव–२०७६ सञ्चालन हुने जानकारी गराउदछौं । पुर्वाञ्चलको व्यापारीक तथा औद्योगिक केन्द्रको रुपमा विकसित हुँदै आएको मेचीनगरमा ९ दिनसम्म लगातार संचालन हुने यस महोत्सवको मुख्य विशेषता नेपाल सहित भारत, वंगलादेश, भुटान, म्यानमार, पाकिस्तान लगायतका छिमेकी राष्ट्रहरुको प्रत्यक्ष स्टल सहभागितामा लगानीकर्ता, उत्पादक, वितरक, निर्यातकर्ताहरुलाई एउटै मञ्चमा भेला गराई  सरसामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जानकारी उपलब्ध गराउनु रहेको छ । 
मेची उद्योग वाणिज्य संघले क्षेत्रिय स्तरका पूर्वाञ्चल औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव २०६०, दोश्रो पूर्वाञ्चल औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव २०७० को सफलता पूर्वक आयोजना गरेको थियो । सो अवसरमा नेपाल, वंगलादेश, भारत र चिन का प्रदर्शकहरुको जम्मा २०० भन्दा बढि स्टल सहभागिता रहेको थियो । महोत्सवको २ लाख दर्शकले अवलोकन गरेका थिए भने जम्मा ५ करोडको कारोवार भएको थियोे। उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गर्न लागिएको यस महोत्सवमा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरुका अतिरिक्त विदेशका वस्तुहरु र पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य र अन्य उत्पादनहरु समेत गरी करीब २०० स्टलहरु रहने छन् भने १ लाख ५० हजार दर्शकहरुले अवलोकन गर्ने तथा ५ करोडको कारोवार हुने आयोजकले अपेक्षा गरेको छ। यस महोत्सवले करिव २४,००० वर्ग मिटर क्षेत्रफल ओगट्ने छ ।
महोत्सवलाई मुख्यत् चार भागमा विभाजन गरिएको छ प्रदर्शनी तथा बिक्रीकक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, वालउद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र । प्रदर्शनी कक्षमा अलग–अलग परिसर बनाई अटोमोवाईल्स, बैंक तथा वित्तीय संस्था, मोवाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामाग्री, अन्तर्राष्ट्रिय, औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन सम्वन्धी, दैनिक उपभोग्य वस्तुहरु, हस्तकलाका साथै तयारीपोशाक तथा जुत्ताचप्पल प्रदर्शनीमा रहनेछन् । यसैगरी मेलामा भारत, बंगलादेश, भुटान, म्यानमार र पाकिस्तानका प्रदर्शकहरुको समेत सहभागिता रहनेछ न । अक्टानोर्म विधिबाट विशिष्ठ खालका स्टलहरुले सजाईने मेलामा कला कृत्तियुक्त मुलप्रवेशद्वारको निर्माण गरिनेछ। सांस्कृतिक कार्यक्रम अन्र्तरगत विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, कलाहरुको प्रदर्शनी गरिनेछ । राष्ट्रिय, प्रदेशिक तथा स्थानीय कलाकारहरुको प्रस्तुति, फेशनशो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ। वालउद्यान क्षेत्रमा विभिन्न शाहसिक तथा मनोरञ्जनात्मक खेलहरु रहने छन् । खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्ट का साथै जातीय खानपानका विभिन्न स्टलहरु रहने छ। महोत्सवमा मिडिया सेन्टर, कन्फरेन्स हल,  फ्रिवाइफाइजोन, सेल्फीजोन,  प्राथमिक उपचार, शौचालय खानेपानि तथा पार्किंगको व्यवस्था हुने छ ।
प्रचार प्रसारकालागि राष्ट्रिय, स्थानीय तथा सोसियल मिडियामा प्रचार प्रसार, माइकिंग, लिफलेट, क्रस तथा पोल वेनर, र्हाेडिंग बोर्ड र स्वागतद्वारहरुको निर्माण गरिनेछ । यसैगरी एक्स्पोको नामबाट स्थायी लेखा नम्बर लिई सम्पुर्ण कारोवार सो  मार्फत गरिनेछ। सुरक्षाका लागि मेला स्थलमा सिसिटिभिबाट २४ घण्टा सुरक्षाको व्यवस्था, सरकारी सुरक्षाकर्मिको समन्वयमा निजी सुरक्षाकर्मिबाट सुरक्षा व्यवस्था गरिनेछ। प्रत्येक स्टलको लागि बीमा, स्टलमा अग्नी नियन्त्रणयन्त्र राखिनुका साथै दमकल लगायत एम्वुलेन्सको व्यवस्थागरिनेछ । 
अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुने यस्ता महोत्सव तथा प्रदर्शनीले उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध गांसी, औद्योगिक तथा व्यापारिक चहलपहल बढाई आर्थिक जगत लाभान्वित हुने छ । अन्तत यसले मुलुककै आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत गर्नेछ। उपभोक्ता र उत्पादकहरुलाई एकै ठाउमा भेला गराई उद्योगी व्यवसायीहरु बीच औद्योगिक र उपभोग्य वस्तुहरु, लगानीका नयाँ प्रविधि सम्बन्धमा आपसी जानकारीको आदान–प्रदान गर्ने वातावरण यस महोत्सवले सृजना गर्नेछ भन्ने हामीलाइ विश्वास लागेको छ ।
मेची उद्योग वाणिज्य संघ मुख्य आयोजक रहेको यस महोत्सवमा मेचीनगर नगरपालिका प्रदेश तथा केन्द्रका विभिन्न मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ–प्रदेश नं.–१, जिल्ला समन्वय समिति झापा तथा झापाका विभिन्न स्थानीय तहहरुसँग समन्वय गरी  सबैको साथ तथा सहयोग लिई आयोजना गरिनेछ ।

Subscribe to us for your support

Subscribe